काठमाडौं । हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै देशको पश्चिम भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ ।
महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली छ । गण्डकी प्रदेशका केही स्थान, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षासमेत भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थान, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

June 14, 2025, Jyotishsanchar press

