काठमाडौं । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साथै पश्चिम भूभागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ।
महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली छ। देशका विभिन्न स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यस्तै, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षा भइरहेको छ ।
दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
यस्तै, राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

June 19, 2025, Jyotishsanchar press

