असार १५ मा दही, चिउरा खानुको महत्व

पं- बालमुकुन्द देवकोटा

काठमाडौँ। मिति २०८२ साल आषाढ १५ गते आइतबार । आषाढ शुक्लपक्ष चतुर्थी तिथी बिहान ११:५५ बजेसम्म । त्यस उप्रान्त पञ्चमी तिथी आरम्भ । यो दिन दही , चिउरा खानेदिन र धान दिवस भएकोले यसको महत्व के छ ?

दही चिउरा खानु एउटा पुरानो परम्परा भएपनि यो संस्कृतिकै रुपमा विकास भइसकेको छ । असार १५ मा दही, चिउरा, साउन १५ मा खीर, जनैपूर्णिमामा क्वाँटी, माघमा तरुल, घ्यु , चाकु आदी खाइने परम्परा छ ।

यी सबै सांस्कृतिक परम्परा भएको र असार १५ पनि एक हो । यी सबै विशेष अवसरको आफ्नै महत्वको रहेको छ । अरु अवसरको महत्व जेजस्तो भएपनि असार १५ को दिन दही चिउरा भगवानलाई तुलसी राखेर अर्पण गरी खानाले काममा जाँगर आउने, शरीरको आलश्यता हट्ने र रोपाइँ कार्यका लागि शरीर फूर्तिलो हुने जनविश्वास रहेको छ ।

यसै पनि गर्मी र बाफिलो मौसम, त्यसमा दही चिउरा खाँदा शीतलता भने पक्कै प्रदान गर्छ नै । दहिमा कार्बोहाइड्रेट, चिनी र बोसो न्यून हुने हुनाले यसले धेरै आलस्य गराउँदैन । दहीमा शरीरलाई चिसो राख्ने एक प्रकारको इन्जाईम हुन्छ। जसले शरीरलाई चिसो राख्न मद्दत गर्छ । असारको गर्मीमा खेतमा धान रोप्दा दही चिउरा खानाले शरिरलाई सन्तुलित राख्ने र दहिमा भिटामिन बी र सी पनि हुने हुनाले दही खानाले काम गर्न शक्ति र जोश पनि प्रदान गर्छ ।

उक्त दिन रोपाईं गरी दही चिउरा खानाले गति परिने विश्वास अनुरूप आफ्नो खेतीपाती नहुनेहरू पनि अरूको खेतमा रोपाईं गरी रमाउने चलन छ। रोपाईं कार्य मुलुकको सामाजिक, धार्मिक र सांस्कृतिक पक्षसँग पनि निकटरूपमा जोडिएको छ। रोपाईंको पहिलो दिन देवतालाई बीउ चढाई परिपूर्ण, भरिपूर्णका लागि अन्नपूर्णको माता लक्ष्मीको आराधना गरी रोपाईंको श्रीगणेश गरिन्छ।

रोपाईंमा धेरै खेतालाको आवश्यक पर्ने भएकाले गाउँघरमा पालैपालो पर्मद्वारा रोपाईं गरिने भएकाले यसले सामाजिक एकता र सद्भाव बढाउन पनि ठूलो टेवा पुर्‍याउँदै आएको छ।कतैकतै ठूला खेती भएकाले रोपाईं गर्दा बेठी लगाउने अर्थात् पञ्चेबाजा बजाई नाचगान गर्ने, भोज खुवाउने तथा खेतालाहरूलाई मसला र रूमाल बाँड्ने पनि प्रचलन छ। यो परम्परालाई जोगाइराख्नु हामी सबैको दायित्व हो।

Whatsapp Image 2025 06 28 At 11.56.12

June 29, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको