सरदरभन्दा कम वर्षा, मधेसमा खडेरी

काठमाडाैँ । मनसुनको शुरुवाती पहिलो महिनामा मुलुकभर सरदर भन्दा कम वर्षा भएको छ । जुन महिनासम्म सामान्य वर्षा भएपनि जुलाईको पहिलो १० दिनमा वर्षा हुने दरमा कमी आएको देखिएको छ ।

जल तथा मौसम विज्ञान विभागले जुन एक तारिकदेखि जुलाई १० सम्मको मनसुनको अवस्था विश्लेषण गरी जारी गरेको पुनरावलोकनमा सरदरभन्दा कम वर्षा भएको देखिएको हो । सरदर वर्षा भन्नाले कुनै केन्द्रमा मापन गरिएको ३० वर्षको औसत वर्षालाई जनाउँछ । यस वर्षको मनसुन मे २९ तारिकमा नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको थियो । मनसुन आगमन हुने सरदर मिति जुन १३ तारिख हो तर यस वर्षको मनसुन आगमन सरदर भन्दा छिटो शुरु भएको थियो ।

जल तथा मौसम विज्ञान विभागका मुलुकभर ५ सय भन्दा बढी वर्षा मापन केन्द्रहरु छन् । विभागले दैनिक अनुगमन गरेका २० केन्द्रहरु मध्येको तथ्यांकहरुका आधारमा मधेस प्रदेशमा सरदरभन्दा कम र सुदूरपश्चिम प्रदेशका केही स्थानमा सरदरभन्दा बढी वर्षा भएको देखिएको छ । समग्रमा विश्लेषण गर्दा मुलुकभर यो अवधिमा सरदर भन्दा कम बर्षा भएको हो ।

मुलुकभर मनसुन अवधिभर १४ सय ७९ दशमलव ७ मिलिमिटर वर्षा हुनुलाई सरदर वर्षा मानिन्छ । अहिलेसम्म सरदर वर्षाको जम्मा २६ दशमलव ४ प्रतिशत मात्रै वर्षा भएको छ । जुलाई ११ सम्मको सरदर वर्षा ३ सय ९१ दशमलब ३ मिलिमिटर अर्थात् ८५ प्रतिशत भएको छ । यो अवधिमा गत वर्ष ४ सय ६० दशमलव ३ मिलिमिटर वर्षा भएको थियो । मनुसुन प्रक्षेपणको विश्लेषण मनसुन अवधिभरलाई गरिने भएकाले अहिले नै निष्कर्षमा पुग्न नमिल्ने भएपनि नमूना अनुगमनका वर्षामापन केन्द्रको तथ्यांकहरुका आधारमा यो अवधिमा सरदर भन्दा कम वर्षा भएको भन्न सकिने विभागका प्रवक्ता एवं मौसमविद् विभूति पोखरेलले बताउनु भयो । न्युज एजेन्सी नेपालका संवाददातासँग कुरा गर्दै मौसमविद् पोखरेलले सुदूरपश्चिमका केही भूभागमा पछिल्ला केही दिनमा सरदरभन्दा बढी वर्षा भएको रेकर्ड भएपनि मुलुकभरको समग्र विश्लेषणमा सरदरभन्दा कम वर्षा भएको देखिएको बताउनु भयो ।

विभागले दैनिक अनुगमन गरेका बर्षामापन केन्द्र मध्येको विराटनगर विमानस्थलको बर्षामापन केन्द्रका अनुसार जुलाई १ देखि ११ सम्म ४ दशमलब ६ प्रतिशत वर्षा भएको छ । जुन १ देखि जुलाई ११ सम्म २ सय ११ दशमलब २ मिलिमिटर बर्षा भएको छ । विराटनगर विमानस्थलको सरदर बर्ष १४ सय ६ दशमलव २ मिलिमिटर हो । सन् २०२४को मनसुन अवधिमा २१ सय ४२ दशमलव ४ मिलिमिटर वर्षा भएको थियो । यो १ सय ५२ प्रतिशत थियो ।

त्यसैगरी जनकपुर विमानस्थलको तथ्यांकअनुसार जुन १ देखि जुलाई ११ सम्म १ सय ५४ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । अघिल्लो बर्ष यही अवधिमा सो स्थानमा ५ सय ५४ दशमलव ४ मिलिमिटर वर्षा भएको थियो ।

त्यसैगरी सिमरा विमानस्थलको बर्षामापन केन्द्रमा रेकर्ड भएको तथ्यांकअनुसार, जुन १ देखि जुलाई ११ सम्म २ सय ६१ दशमलव १ मिलिमिटर वर्षा भएको छ । गत वर्ष यो अवधिमा ४ सय २६ दशमलव २ मिलिमिटर वर्षा भएको थियो ।

यसैबीच, मधेस प्रदेश सरकारले असार २६ गते मन्त्रीपरिषद् बैठकबाट मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । मनसुनको समयमा बर्षा नहुँदा धान रोपाईं हुन नसकिरहेको र रोपिएका खेतमा पािन धाँजा फाट्न थालेपछि सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको हो । सरकारले विशेष राहत प्याकेजको व्यवस्था गर्न संघीय सरकारसँग माग पनि गरेको छ ।

1752289800 Ky566 1

July 12, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको