काठमाडौं । नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु-२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा श्रीलङ्काविरुद्ध सानदार जित निकालेको छ।
बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा मंगलबार राति सम्पन्न खेलमा नेपालले श्रीलङ्कालाई ७-० काे गोलअन्तरले पराजित गरेको हो। खेलको निर्धारित समयभन्दा करिब डेढ घण्टा ढिलो सुरु भएको खेलमा नेपालले पहिलो हाफमा पाँच गोल गरेकाे थियाे भने दोस्रो हाफमा दुई गोल थप्यो।
नेपालको जितमा मीनाले ह्याट्रिक गरिन् । उनले खेलको आठ, ४२ र ७० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । साथै पूर्णिमा राईले दुई गोल गरिन् भने समीक्षा मगर र सरिता नाथले एक/एक गोल गरे। जितसँगै नेपालले तीन खेलबाट ६ अङ्क बटुलेको छ। समान खेलबाट बङ्गलादेशको ९ अङ्क छ। नेपालले पहिलो खेलमा भुटानलाई ६-१ ले पराजित गरेको थियो। दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो। श्रीलङ्का भने प्रतियोगितामा जितविहीन छ।

July 16, 2025, Jyotishsanchar press

