काठमाडौँ । संसदीय समितिले भदौ २ र ३ गते हिन्दुकुश हिमालयन सांसदहरुको सम्मेलन आयोजना गर्ने भएको छ।
सोमबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिमा यसबारे जानकारी गराइएको हो । समितिका सदस्य वीरबहादुर बलायरले बैठक आउँदो भदौ २ र ३ गते हुने जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा नेपालसहित भारत, चीन, बंगलादेश, भूटान, म्यानमार र पाकिस्तानको उपस्थिति रहनेछ ।
बैठकमा यी देशहरुमा जलवायु परिवर्तनले पारेको असर, वातावरण प्रदूषण र जैविक विविधताका विषयमा छलफल हुनेछ । सम्मेलनलाई राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुहुने सदस्य बलायरले बताउनु भयो ।
यो बेठकको मुख्य उद्देश्य यस क्षेत्रमा पर्ने मुलुकहरुका संसदबीच साझा धारणा, संवाद र समन्वय गरी नीति तथा कानून निर्माण र दिगो विकासका ज्ञान, सीप र नविन धारणालाई आदानप्रदान गर्नु रहेको बताउनु भयो ।
विश्व समुदायले भोग्नुपरेका जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वायु प्रदूषण जस्ता समस्याहरुमा समाधानको खोजी गर्ने उद्देश्यले बैठक राखिएको बताउनु भयो ।

August 11, 2025, Jyotishsanchar press

