काठमाडाैँ । सभामुख देवराज घिमिरे र राजनीतिक दलहरुका प्रमुख सचेतक बीच कुलिङ अफ पिरियड संसदीय छानविन विशेष समितिको प्रतिवेदन कार्यान्वयनबारे छलफल भएको छ ।
मंगलवार साँझ सिंहदरबारमा प्रमुख सचेतकहरुसँग सभामुख देवराज घिमिरेले छलफल गर्नुभएको हो । छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौलाले छानविन समितिले दिएको प्रतिवेदनलाई कसरी कार्यान्वयन गर्ने भन्नेबारेमा छलफल भएको बताउनु भयो । उहाँले कानून निर्माणको बाटोलाई कसरी गुणस्तरीय बनाउने र कमजोरीहरु अब हुन नदिन के गर्ने भन्नेबारेमा पनि छलफल भएको बताउनु भयो । विधायिकी कामलाई विश्वसनिय बनाउनुपर्नेमा सबै एकमत रहेको बताउनु भयो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले राज्य व्यवस्था तथा सुशासन समितिबाट कुलिङ अफ पिरियडमा भएको छेडखानी र त्यसबारे अध्ययन गर्न गठित छानविन विशेष समितिको प्रतिवेदनलाई प्रभावकारी बनाउने बारेमा छलफल भएको बताउनु भयो । उहाँले समिति सभापति रामहरि खतिवडाले राजीनामा दिनुभएसँगै सभापति निर्वाचनको प्रक्रिया अघि बढाउने बारेमा पनि छलफल भएको बताउनु भयो ।
सभापति रामहरि खतिवडाले समितिको सभापति पदबाट मंगलवारको प्रतिनिधि सभा बैठकमा राजीनामा दिएको घोषणा गर्नुभएको छ । प्रतिवेदनमा लेखिएको विषयवस्तुहरु कार्यान्वयनको रुपमा अघि बढाउने र क्रमशः कार्यान्वयनमा लैजाने सहमति भएको बताउनु भयो ।

August 13, 2025, Jyotishsanchar press

