रामेछापमा माझी समुदायको भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

रामेछाप । रामेछापका माझी समुदायका युवाले आफ्नो समुदायको भाषा, संस्कार र संस्कृति जोगाउने अभियान सञ्चालन गरिरहेका छन् ।

यसका लागि युवा पुस्ताले बुढापाकासँग सिकेर भाषा र संस्कारका विषयमा अन्तर पुस्ता हस्तान्तरणका लागि विभिन्न कार्यक्रम गर्दै आएका छन् । पहिले पनि गराइरहेका थिए । आफ्नो भाषा र संस्कृति हराउँदै गएको भन्दै युवाहरूले माझीहरूको सामाजिक विषयवस्तुमा छलफल गर्न सामाजिक छलफल मञ्च (मजे सावा) नाम सङ्गठन बनाएर काम गरिरहेका छन् । सङ्गठनले जिल्लाका माझी समुदायका विभिन्न १० स्थानमा केही दिनअघि आयोजना गरेको बालबालिका तथा किशोर किशोरीका लागि भाषा तथा संस्कृति प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

मन्थली नगरपालिका–८ गाइखुराका बालकृष्ण माझीले भाषा र संस्कृति जोगिए मात्र माझीहरूको पहिचान जोगिने भन्दै टोलटोलमा यस्तो प्रशिक्षण कार्यक्रम गरिएको बताए । मन्थलीस्थित गाइखुरा, जखनिटार, हाटेचउर, कुनाउरी, रुमालेचोक, हात्तीटार, सेलेघाट भटौली र खाँडादेवी गाउँपालिकाको रजगाउँ गरी माझी समुदाय रहेका विभिन्न १० स्थानमा माझी समुदायका बालबालिका र किशोर किशोरीलाई प्रशिक्षण दिइएको उनले बताए ।

पछिल्लो पुस्ताले भाषा, धर्म, संस्कृति, संस्कार नबिर्सिऊन् भनेर जिल्लाका ती स्थानमा कार्यक्रम सञ्चालन गरिएको मजे सावाका संयोजक श्रीबहादुर माझीले बताए । माछा मार्नु, विभिन्न घाट तथा नदीमा डुङ्गा चलाउनु माझी समुदायको पुर्ख्यौली पेसा हो । पछिल्लो समय नदी तथा खोलामा विषादी हालेर माछा मार्ने क्रम बढेको र अधिकांश ठाउँमा मोटरेबल तथा झोलुङ्गे पुल बनेका कारण आफ्नो पुर्ख्यौली पेसा सङ्कटमा परेको यस समुदायका अगुवाहरूको भनाइ छ ।

Majhi Samudaya

July 16, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको