बनेपा । नेपाल संस्कृति र मठमन्दिरकाे धनी देश हाे । यहाँ हरेक ठाउँमा हरेक किसिमका विशेषता बाेकेका पर्व, नाच र संस्कृतिहरु रहेका छन् । यसैक्रममा ऐतिहासिक शहर बनेपामा नरदेवी श्री श्वेतकाली (ङतभुलु अजिमा) को १२ वर्षे देवी नाच पर्व संचालन हुने भएकाे छ ।
बनेपाकाे लायकु डबलीमा कार्तिक २० देखि २२ गतेसम्म देवीनाच संचालन हुने मंगलबार आयाेजित पत्रकार सम्मेलनमा जानकारी दिइएकाे छ। जात्रा व्यवस्थापन समितिकाे पहल र परम्परागत नाचगुठीकाे नेतृत्वमा हुने यस जात्रा सम्बन्धित गुठीयारहरु लगायत परम्परागत ङत त्वाः समाजका सदस्यहरुकाे सक्रिय सहभागितामा श्री श्वेतकाली देवीकाे नाच पर्व सम्पन्न गर्ने याेजना रहेकाे जात्रा व्यवस्थापन समितिका संयोजक एवं बनेपा नपा वडा नं ८ की अध्यक्ष शुभलक्ष्मी मानन्धरले जानकारी दिनुभयाे ।
प्रत्येक १२ वर्षमा १२ वर्षे देवीनाच पर्व अन्तर्गत काठमाडाैंकाे नरदेवी, हनुमानढोका दरबारको तलेजु भवानी, नासल चोक, कुमारी घर, इन्द्रचोक र कालभैरव पछाडीको डबली, ललितपुर, किर्तिपुर, भक्तपुर र बनेपाको लायकु डबलीमा यो नाच हुने गरेको छ । सो अन्तर्गत कार्तिक २० बनेपाको प्राचिन लायकु डबलीमा नरदेवी श्री श्वेतकाली (अजिमा) को १२ बर्षे नाँच देखाइने भएको हो ।

November 4, 2025, Jyotishsanchar press

