बनेपा । काभ्रे बहुमुखी क्याम्पसको ४५औँ वार्षिकोत्सव सम्पन्न भएकाे छ । बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कञ्चनचन्द वादेले मंगलबार कार्यक्रमकाे उद्घाटन गर्नुभएकाे हाे ।
मन्त्री वादेले विद्यार्थीलाई उच्चस्तरीय प्राविधिक शिक्षा प्रदान गरी आत्मनिर्भर तथा व्यवसायिक बनाउने लक्ष्यसहित सरकार अघि बढिरहेको बताउनुभयो । आफू बनेपा नगरपालिकामा २०५४ देखि २०६० सालसम्म जिम्मेवारीमा रहँदा नगरको विकास बजेट कटौती गरेर बनेपा बहुप्राविधिक विद्यालय सञ्चालनको योजना अघि बढाएको स्मरण गर्दै उहाँले सोही योजनाअनुसार विद्यालय सञ्चालन भए पनि हालको व्यवस्थापन सन्तोषजनक नभएको बताउनुभयाे । निर्वाचन सम्पन्न भएपछि विद्यालय व्यवस्थापनमा देखिएका समस्याहरू समाधानतर्फ प्रदेश सरकार सकारात्मकरूपमा अघि बढ्ने उहाँको भनाइ थियो।
क्याम्पसका कोषाध्यक्ष रामराजा धौवडेलद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन तथा क्याम्पस प्रमुख के.जी. बैदारले प्रस्तुत गरेको प्रगति विवरणको प्रशंसा गर्दै मन्त्री वादेले क्याम्पस काभ्रेको मात्र नभई देशकै उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित भएको उल्लेख गर्नुभयो।
कार्यक्रमका विशेष अतिथि तथा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले क्याम्पसले बजारको मागअनुसार गुणस्तरीय शिक्षा प्रदान गर्दै उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभयो। विश्वविद्यालय सञ्चालनको सोच स्वागतयोग्य रहेको उल्लेख गर्दै उहाँले बनेपा बहुप्राविधिक विद्यालय ८० रोपनी क्षेत्रफलमा निर्माण भएको भौतिक संरचनामा हाल चार सय विद्यार्थी मात्र अध्ययनरत हुनु दुःखद भएको बताउनुभयो।
भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा नगरपालिकाको मुख्य भवन जलेर ध्वस्त भएपछि हाल वडा नं. १० को भवनबाट सेवा प्रवाह गर्नुपरेको जानकारी दिँदै उहाँले सेवा प्रवाहमा कठिनाइ भइरहेको अवस्थामा नगर मातहत रहेको बहुप्राविधिक विद्यालयका खाली भवनमध्ये दुई वटा अस्थायीरूपमा उपलब्ध गराउन अनुरोध गर्दा असहज परिस्थिति सिर्जना भएकोप्रति दुःख व्यक्त गर्नुभयो। कठिन परिस्थितिमा सहयोगको अपेक्षा गर्दा विद्यार्थी उक्साएर आन्दोलनको चेतावनी दिइएको उल्लेख गर्दै त्यसपछि भवन खाली गराउन पत्राचार गर्नुपरेको उहाँले स्पष्ट पार्नुभयो।
कार्यक्रममा किशन–हरि खैलुगी छात्रवृत्तिबाट कमला मैनाली सम्मानित हुनुभएको थियो भने लीला मध्यमार्ग छात्रवृत्तिबाट संगिता श्रेष्ठसहित विभिन्न छात्रवृत्ति कोषमार्फत १६ जना विद्यार्थीलाई सम्मान गरिएको आयोजकले जनाएको छ।
February 25, 2026, Jyotishsanchar press

