बनेपा । बनेपा नगरपालिका वडानम्बर ९ मा रहेकाे निष्ट कलेजकाे १५ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । शुक्रबार नेपाल विश्वविद्यालयका रजिष्टार सूर्यराज आचार्यको प्रमुख आतिथ्यता तथा कलेजकी निर्देशक प्रणिताशर्मा बरालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कलेजका प्रिन्सिपल दीपक भट्टले उपस्थितहरुलाई स्वागत गर्दै कलेजको स्थापना, प्रगति, विकास यात्रा र आगामी कार्यक्रमबारे जानकारी दिनुभयाे । निष्ट कलेज १५ वर्षअघि बनेपा ९ नयाँबस्तीमा स्थापना गरिएको र काठमाडौंस्थित निष्ट कलेजको विस्तारका रूपमा काभ्रेमा सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयाे ।
उहाँका अनुसार कलेजले शैक्षिक उत्कृष्टतालाई प्राथमिकता दिँदै आएको छ । यहाँ अध्ययन गरेका विद्यार्थीहरूले नेपाल तथा विदेशमा विभिन्न व्यवसायिक तथा उद्यमशील क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेका छन् । कलेजमा हाल १ हजार २ सय ९६ विद्यार्थी अध्ययनरत रहेका छन् ।
कलेजमा हाल त्रिभुवन विश्वविद्यालयसँग सम्बद्ध स्नातक तहका बीएससी सिएसआइटी, बीसीए र बीआइटी कार्यक्रम सञ्चालनमा छन् । साथै कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन तथा कानुन संकायका विषयहरू अध्यापन हुँदै आएको प्रिन्सिपल भट्टले जानकारी दिनुभयाे ।
कार्यक्रममा प्रमुख अतिथि आचार्यले निष्ट कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै राष्ट्रियस्तरमै पहिचान बनाउन सफल भएको बताउनुभयाे । पछिल्लो समय विद्यार्थीहरू विदेश जाने प्रवृत्ति बढिरहेका बेला कलेजले सीपमूलक शिक्षा प्रदान गरी आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेलेको उहाँकाे भनाइ थियाे ।
कार्यक्रममा कलेजका कार्यकारी निर्देशक डा. राजेन्द्र घिसिङले जिल्लाबाट गुणस्तरीय शिक्षाका लागि बाहिर जानुपर्ने बाध्यता निष्ट कलेजले अन्त्य गरेको बताउँदै कलेजको लक्ष्य देशकै अग्रणी उच्च शिक्षा संस्था बन्ने र सीपमूलक शिक्षा प्रदान गर्दै समाजमा सकारात्मक प्रभाव पार्ने रहेको बताउनुभयाे ।

