अभिनेत्री लम्सालको दोस्रो बिहे पनि संकटमा
Arunima Second Marriage Cu7iui7gq4

April 15, 2025, Jyotishsanchar press

अभिनेत्री अरुणिमा लम्सालको दोस्रो बिहे पनि संकटमा परेको छ। गत भदौमा सुनसरीका युवराज श्रेष्ठसँग बिहे गरेकी उनले श्रीमानसँग छुट्टिने निर्णय गरेकी हुन्। 

अमेरिकामा बस्दै आएकी अरुणिमा यतिखेर नेपालमा छिन्। आफू अभिनीत फिल्म ‘घर: बट इन अमेरिका’ लागि प्रमोसनमा उनी व्यस्त छिन्। 

केहीअघि अरुणिमाले सामाजिक सञ्जालबाट बिहेका तस्विहरू हटाएकी थिइन्। त्यहीबेला उनीहरूको सम्बन्ध ठिक नभएको खबर बाहिरिएको थियो।  

यसैबीच, प्रकाश सुवेदी ‘सो’मा पुगेकी अरुणिमाले श्रीमानसँग सम्बन्ध बिग्रिएको खबरबारे मुख खोलेकी छिन्। आफूले श्रीमानमाथि सम्बन्धविच्छेदको मुद्दा हालिसकेको समेत दाबी गरेकी छिन्। 

वैवाहिक सम्बन्ध नटिक्नुमा अरुणिमाले श्रीमानलाई दोष दिएकी छिन्। सुनसरीका कांग्रेस नेतासमेत रहेका युवराजले बिहेअघि आफूसँग धेरै कुरा ढाँटेको उनको आरोप छ। 

‘विवाहअगाडि उहाँको राम्रो मात्रै सुनिएको थियो। विवाहपछाडि नराम्रो मात्रै सुनियो। उहाँले सबै कुराहरू ढाँट्नुभएको रहेछ। तर, कहिल्यै पनि आफूले ढाँटेको स्वीकार्नुभएन। यस्तो झुटो मान्छेसँग जीवन बिताउनुभन्दा सिंगल नै बस्छु भनेर यो निर्णय लिएँ। मैले डिभोर्सको मुद्दा हालिसकेकी छु,’ उनले भनिन्। 

अरुणिमाले वारेसमार्फत मुद्दा दायर गरेकी हुन्। यद्यपि, युवराजले भने यस विषयमा केही धारणा राखेका छैनन्। युवराज डिभोर्स नगर्ने पक्षमा रहेको बताइन्छ। तर, अरुणिमा भने आफ्नो निर्णयबाट पछि नहड्ने अडानमा छिन्। 

अरुणिमाको यो दोस्रो बिहे हो। यसअघि अरुणिमाले अमित अर्यालसँग पहिलो बिहे गरेकी थिइन्। पहिलो बिहे असफल भएपछि अरुणिमाले युवराजसँग मागी बिहे गरेकी थिइन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको