बनेपा । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९ मा रहेको श्री डेडीथुम्का माविको आगामी जेठ १५ गते हुने पूर्वविद्यार्थी शिक्षा सम्मेलनकाे तयारी पूरा भएकाे छ ।
बनेपामा आयोजित पत्रकार सम्मेलनमा सम्मेलन आयोजक मूल समारोह समितिले यसको जानकारी गराएको हो । आयोजकले दिएको जानकारी अनुसार यस विद्यालयले २०३८ सालदेखि एसएलसीमा आफ्ना विद्यार्थीलाई सहभागीता गराउँदै आइरहेको छ । यहाँ अध्ययन गरेका विद्यार्थीहरु देशका उच्च तहमा पनि पुगेका छन् । शिक्षा, राजनीति, स्वास्थ्य, संचार, समाजसेवा, उद्योगलगायत विभिन्न क्षेत्रमा रहेका पूर्वविद्यार्थीहरुलाई पुनर्मिलन गराउने र डेडीथुम्काका साथै समग्र नगरपालिकाको शैक्षिक गुणस्तरलाई कसरी सुधार गर्न सकिन्छ भन्नेबारे छलफलका लागि सम्मेलन गर्न लागिएको आयोजक श्री डेडीथुम्का फाउण्डेशनका अध्यक्ष टोमप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रममा उपस्थित पत्रकारहरुलाई डेडीथुम्का मावि पूर्वविद्यार्थी शिक्षा सम्मेलन मूल समारोह समितिका संयोजक कश्यपप्रसाद पौडेलले प्रेस विज्ञप्ति पढेर जानकारी गराउनु भएको थियो । उहाँले यस विद्यालयबाट एसएलसी वा एसइइ दिएका करिब ४ हजार ५०० विद्यार्थीलाई समेट्न सकिन्छ कि भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । यो पहिलो कार्यक्रम भएकाले जति सम्भव हुन्छ त्यतिलाई समेट्दै अघि बढ्ने र पछिल्ला थप कार्यक्रमहरुमा सम्पर्कमा आउने सबैलाई समेट्दै कार्यक्रम गरिने पनि पौडेलले जानकारी दिनुभयो ।
बिहीबारको कार्यक्रममा पत्रकारहरुले सोधेका प्रश्नहरुको आयोजकका तर्फबाट गोकूल गौतमले जवाफ दिँदै सबैलाई सो दिन उपस्थितीका लागि अनुरोध पनि गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बिनोदकुमार न्यौपानेलगायत विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रम सफलताको शुभकामना दिँदै महासंघका अध्यक्ष न्यौपानेले सबैलाई समेट्दै र विवादरहित बनाएर अघि बढ्न सुझाव दिनुभयो । कार्यक्रम अग्रज पत्रकार एवं डेडीथुम्का मावि पूर्वविद्यार्थी शिक्षा सम्मेलनको प्रचार उपसमितिका संयोजक यदूनाथ गौतम देउपुरेले संचालन गर्नुभएको थियो ।

May 22, 2025, Jyotishsanchar press

