बनेपा । जेठ १५ देखि १७ गतेसम्म बनेपा नगर टेबल टेनिस संघको आयोजनामा प्रथम मेयर कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता २०८२ हुने भएको छ । प्रतियोगिताका लागि खेलाडीहरुलाई खुल्ला आमन्त्रण गरिएको छ ।
आयाेजक बनेपा नगर टेबल टेनिस संघले साेमबार बनेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा यसकाे जानकारी दिएकाे हाे । पत्रकार सम्मेलनमा बनेपा नगर टेबल टेनिस संघका अध्यक्ष परमेश्वर श्रेष्ठले प्रतियोगिता, तयारी र पुरस्कार लगायतका विषयमा जानकारी दिएका थिए ।
उक्त प्रतियोगिताका लागि १८ वर्ष उमेर कम समूहका केटा र केटी दुबै समूहले प्रतिस्पर्धा गर्न सक्नेछन् । जसमा प्रथम हुनेलाई १५ हजार, दोश्रो हुनेलाई १० हजार र तेश्रो हुनेलाई ५ हजार नगद पुरस्कार उपलब्ध गराइनेछ । यस समूहमा सहभागी शुल्क तीन सय रुपैयाँ लाग्नेछ। यस्तै खुल्ला एकल पुरुष र महिलातर्फ प्रथम पुरस्कार ४० हजार तोकिएको छ । दोश्रो हुनेले २० हजार र तेश्रो हुनेले १० हजार प्राप्त गर्नेछन् । यस समूहमा सहभागी शुल्क भने एक हजार रुपैयाँ लाग्नेछ।
प्रतियोगितामा मास्टर सिंगल ४० वर्ष उमेर भन्दामाथि समूहमा प्रथम हुनेले १५ हजार, दोश्रो हुनेलाई १० हजार र तेश्रो हुनेलाई ५ हजार पुरस्कार ब्यवस्था गरिएको छ । मास्टर सिंगल ५५ वर्ष उमेर समूहमाथि पनि प्रथम हुनेले १५ हजार, दोश्रो हुनेलाई १० हजार र तेश्रो हुनेलाई ५ हजार पुरस्कार ब्यवस्था गरिएको छ । प्रतियोगिताका लागि करिव ५ लाख रुपैयाँ खर्च हुने बताइएकाे छ ।
बनेपा नगरपालिका तथा विभिन्न संस्थाहरुको सहयोग रहने उक्त प्रतियोगिताको मुख्य उद्देश्य बनेपा तथा काभ्रेपलाञ्चोक जिल्लाबाट राष्ट्रिय स्तरका टेबल टेनिसका खेलाडीहरु तयार गर्ने, मोफसलमा रहेर पनि राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमतावान खेलाडीहरु तयार गर्ने र एक अर्काको सीप तथा कौशलले अन्यत्र प्रतिस्पर्धामा उत्रन सक्ने राष्ट्रिय खेलाडी तथा प्रतियोगिता संयोजक शिवशंकर गोथेले बताए ।
पत्रकार सम्मेलनमा बनेपामा टेबल टेनिस खेलको अवस्था, स्थापना र त्यसको निरन्तरताका बारेमा जानकारी दिँदै बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले २०८१ साउन ८ गतेदेखि नियमित प्रशिक्षणसहित खेलाडीहरु उत्पादन गरिरहेको बताए । उत्पादन गरिएका खेलाडीहरुको सीप तथा प्रतिस्पर्धा अन्यत्र पनि उत्कृष्ट हुने गरी देखाउन प्रतियोगिता महत्वपूर्ण हुने उनकाे भनाइ थियाे ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोदकुमार न्यौपाने, टेबल टेनिस संघका जिल्ला अध्यक्ष विशाल कायश्थ, नगर अध्यक्ष परमेश्वर श्रेष्ठ, उपाध्यक्ष अशोक श्रेष्ठ, सचिव कुश श्रेष्ठ, काभ्रे बहुमुखी क्याम्पसका प्रिन्सिपल केजी बैदारलगायतको सहभागिता रहेको थियो ।

May 26, 2025, Jyotishsanchar press

