बनेपा । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाकाे आयाेजनामा जेठ ३१ गते पाँचौं ज्ञानकुञ्ज रोड रेस-२०८२ हुने भएकाे छ ।
प्रतिष्ठानले आइतबार बनेपामा पत्रकार सम्मेलनकाे आयाेजना गरि यसकाे जानकारी दिएकाे हाे । ‘खेलकुद समग्र विकासको अभिन्न पाटो हो । हामीले एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुबीच स्वस्थ प्रतिस्पर्धा गराउने उद्देश्यले पाँचौं ज्ञानकुञ्ज रोड रेस-२०८२ आयोजना गर्न लागेका छौं ।’ प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यले भन्नुभयाे ।
प्रतियाेगिताका दुई वटा उद्देश्य रहेकाे प्रष्ट पार्दै उहाँले विद्यार्थीहरुबीच प्रतिस्पर्धा गराई भोलिका दिनमा जुनसुकै क्षेत्रमा पनि कुशल नेतृत्व स्थापित गराउन सकिने र एसईईको तयारीको लागि कडा अनुशासनभित्र पठनपाठन गरी एसईई लगत्तै फ्रि समयमा अनावश्यक कुलतमा तथा गलत बाटोमा हिँड्न सक्ने भएकाले उनीहरुलाई खेलकुदमार्फत् सही बाटो र अनुशासनमा राख्नको लागि पाँचौं ज्ञानकुञ्ज रोड रेस-२०८२ को आयोजना गरिएकाे बताउनुभयाे ।
जेठ ३१ गते शनिबार बिहान ५ः३० बजेदेखि रोड रेस सुरु हुनेछ । रोड रेसमा छात्रा/छात्र दुवै विधा समावेश गरिएको छ । छात्राहरुको रोड रेस ३.६ किलोमिटरको (तीनदोबाटो, चारदोबाटो, चण्डेश्वरीबाट फर्कंदै विद्यालय) रहनेछ भने छात्रको ७ किलोमिटरको (पनौतीदेखि विद्यालय) हुने छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने दुवै विधाका प्रतियाेगीले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा सहभागी हुन २०८१ को एसईई परीक्षा दिएको प्रवेशपत्रको सक्कलप्रति वा प्रधानाध्यापकद्वारा प्रमाणित प्रतिलिपि र हालसालै खिचेको रंगिन फोटो आवश्यक पर्दछ । जेठ २९ गतेभित्र नाम दर्ता गरिसक्नु पर्ने र सहभागिता शुल्क एक सय लाग्नेछ ।
गत वर्ष याे प्रतियाेगितामा २०५ जना सहभागी रहेकाेमा यस वर्ष पनि साेही हाराहारीमा सहभागी हुने आयाेजककाे अनुमान छ । यसका लागि सबै तयारी करिब पूरा भएकाे प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्यले जानकारी दिनुभयाे ।

June 8, 2025, Jyotishsanchar press

