काठमाडौं । कप्तानी पाएको पहिलो खेलमा सावित्रा भण्डारी (साम्बा)ले चार गोल गरेपछि एएफसी एसियन कप छनोटमा नेपाली राष्ट्रिय महिला टिमले आफ्नो १००औँ अन्तर्राष्ट्रिय खेलमा लाओसविरुद्ध ९–० को फराकिलो जित निकालेको छ ।
आइतबार उज्वेकिस्तानको तास्केन्तमा सम्पन्न खेलमा नेपाललाई जित दिलाउन कप्तान सावित्रा एक्लैले चार गोल गरिन् । यस्तै, अनिता बस्नेत, सरु लिम्बू, रश्मीकुमारी घिसिङ र अनिता केसीले समान एक एक गोल थपे । नेपालले अर्को एक गोल भने लाओसबाट आत्मघाती उपहार पाएको थियो । पहिलो हाफमा २–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा सात गोल गर्यो ।
छनोटमा नेपाली टिम समूह ‘एफ’ मा छ । यस समूहमा नेपालसँगै लाओस, श्रीलंका र उज्वेकिस्तान छन् । नेपालले जुलाई २ मा श्रीलंकासँग र जुलाई ५ मा उज्वेकिस्तानसँग खेल्नेछ । यस समूहका सबै खेल उज्वेकिस्तानमा हुने तालिका छ । छनोटबाट समूह विजेताले आगामी वर्ष अस्ट्रेलियामा हुने एएफसी एसियन कपमा स्थान बनाउने छ ।

June 30, 2025, Jyotishsanchar press

