एमसिए–नेपालद्वारा धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधिको प्रयोग

काठमाडाैं । एमसिए–नेपालले पूर्व–पश्चिम राजमार्गअन्तर्गत ४० किमि लामो धानखोला–लमही सडक खण्डको स्तरोन्नति कार्य औपचारिक रूपमा सुरु गरेको छ। यस परियोजनामा नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन (FDR) र सुपरपेभ आस्फाल्ट जस्ता आधुनिक तथा दिगो निर्माण प्रविधि प्रयोग गरिनेछ, जसले सडकको गुणस्तर, टिकाउपना र वातावरणीय प्रभाव न्यूनीकरणमा मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।

परियोजनाअन्तर्गत सडकको दुवैतर्फ ७ मिटर चौडा क्यारिजवे र २.५ मिटर सोल्जर निर्माण गरी सडकलाई १२ मिटर चौडा बनाइनेछ। यसले ढुवानी लागत घटाउनुका साथै सडक सुरक्षामा सुधार ल्याउने लक्ष्य राखेको छ।

शुभारम्भ कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अत्याधुनिक प्रविधिको प्रयोगले सडकलाई सुरक्षित र भरपर्दो बनाउने उल्लेख गर्दै यसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए।

नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले यो आयोजना नेपाल–अमेरिका साझेदारीको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै दिगो पूर्वाधार विकासमार्फत आर्थिक अवसर विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव सुशील बाबु ढकालले एमसिए–नेपालको लगानी सरकारका योजनाको पूरक भएको बताउँदै समयमै गुणस्तरीय कार्य सम्पन्न हुने अपेक्षा गरे।

एमसीसीका राष्ट्रिय आवासीय उप–निर्देशक सञ्जय पौड्यालले आधुनिक प्रविधिको प्रयोगले दीर्घकालीन रूपमा लागत प्रभावकारी पूर्वाधार निर्माणमा योगदान पुर्‍याउने बताए।

एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले परियोजना पारदर्शी र उच्च गुणस्तरसहित समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबै सरोकारवालाको सहयोगप्रति आभार व्यक्त गरे।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको