काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना शुक्रबार बिहान सम्पन्न भएको छ।
मधेस र बागमती प्रदेशको अन्तिम परिणाम आएसँगै सबै तह र पदको मतगणना सकिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो।
यसपटक सात हजार ३९२ मतदाताको करिब एक लाख ६२ हजार मतपत्र गणना गर्न झण्डै एक हप्ता लागेको छ। निर्वाचन समितिले मतगणनालाई तीव्र बनाउन दिनरात गरी करिब २५ समूह परिचालन गरेको थियो।
यसअघि १४औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो। यसपटक मतदाताको सङ्ख्या बढेर सात हजार ३९२ पुगे पनि मतगणना एक हप्तामै सम्पन्न भएको कटुवालले बताउनुभयो।
अहिले सबै मतपरिणाम रुजु गर्ने काम भइरहेको छ। निर्वाचन समितिले अन्तिम नतिजा सार्वजनिक गरेपछि निर्वाचित पदाधिकारी तथा सदस्यको प्रमाणपत्र वितरण र शपथ ग्रहण दसैँपछि गरिने जनाएको छ।

