काभ्रे । काभ्रेमा चालु आर्थिक वर्षको साउन १ गतेदेखि असोज १ गतेसम्म ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार सबैभन्दा बढी बनेपा र पाँचखाल नगरपालिकामा १३–१३ जनामा सङ्क्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा पाँचखाल, नमोबुद्ध र मण्डनदेउपुरमा एक–एक जनामा सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य अधिकृत शिशिर पुडासैनीले जानकारी दिए।
धुलिखेल र पनौती नगरपालिका तथा भुम्लु, रोशी, तेमाल, खानीखोला, बेथानचोक, महाभारत र चौँरीदेउराली गाउँपालिकामा हालसम्म डेङ्गु सङ्क्रमण नदेखिएको कार्यालयले जनाएको छ।
अघिल्लो आर्थिक वर्षमा काभ्रेमा ५९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो। मनसुनमा लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण बन्ने भएकाले सङ्क्रमण फैलिन नदिन सरसफाइ र जनचेतनामा जोड दिइएको कार्यालयले जनाएको छ।
जनस्वास्थ्य कार्यालयले लामखुट्टेको टोकाइबाट बच्न, घरआँगन तथा वरपर पानी जम्न नदिन र लामो बाहुला भएका कपडा लगाउन आग्रह गरेको छ। ज्वरो, टाउको दुख्ने तथा शरीर दुख्नेलगायत लक्षण देखिएमा स्वास्थ्य संस्थामा गई परीक्षण तथा उपचार गराउन पनि अनुरोध गरिएको छ।

