हुम्ला । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम क्षेत्रका नागरिकले पनि समान रूपमा राज्यबाट उपलब्ध हुने सेवासुविधा पाउनुपर्ने बताउनुभएको छ।
हुम्लाको अदानचुली र सर्केगाड गाउँपालिकामा आयोजित कार्यक्रममा उहाँले शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवासुविधा सहर केन्द्रित हुँदा ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको उल्लेख गर्नुभयो। सबै क्षेत्रमा आवश्यक सेवासुविधा उपलब्ध गराउन सके नागरिक जुनसुकै ठाउँमा पनि बस्न सक्ने उहाँको भनाइ थियो।
सांसद साम्पाङले सर्केगाड गाउँपालिका–२ स्थित खडीखेतमा कर्णाली नदी तर्न स्थानीयले तुइन प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ। उक्त स्थानमा जोखिम मोलेर तुइनबाट नदी पार गर्नुपर्ने अवस्थाबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समाचार सार्वजनिक भएपछि उहाँले झोलुङ्गे पुल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
उक्त स्थानमा पुल निर्माणका लागि कादुरी नामक गैरसरकारी संस्थामार्फत प्रक्रिया अघि बढिसकेको बताइएको छ। यद्यपि, निर्माण कार्य कहिले सुरु हुन्छ र स्थानीयले तुइन प्रयोग गर्नुपर्ने बाध्यताबाट कहिले मुक्ति पाउँछन् भन्ने विषयमा चासो बढेको छ।
दुर्गम हिमाली जिल्ला हुम्लामा सडक, पुल तथा आधारभूत सेवासुविधाको अभावका कारण स्थानीय नागरिकले लामो समयदेखि विभिन्न समस्या भोग्दै आएका छन्।

