काठमाडौँ । प्रतिकूल मौसमको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय मुस्ताङ र लोमन्थाङ गाउँपालिकाले कात्तिक १२ देखि १४ गतेसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न पर्यटकलाई आग्रह गरेका छन्।
गण्डकी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात र हिमपहिरोको जोखिमसमेत रहेकाले सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलका अनुसार मौसम प्रतिकूल हुँदा चिसो बढ्नुका साथै सडकमा पहिरो जाने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना छ।
यसैगरी, लोमन्थाङ गाउँपालिकाले पनि प्रतिकूल मौसमको सूचना प्राप्त भएकाले कोरला नाका तथा आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने जनाएको छ। स्थानीयवासी तथा पर्यटकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

