काठमाडौं । चालु आर्थिक २०८१/८२ को दश महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको दश महिनाको विवरणअनुसार यो रेमिट्यान्स गत वर्षको १० महिनाको तुलनामा १३ दशमलव २ प्रतिशतले वृद्धि भएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६ दशमलव ९ प्रतिशतले बढेको थियो । २०८२ वैशाख महिनामा मात्रै विप्रेषण आप्रवाह १ खर्ब ६५ अर्ब ३० करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ रहेको रहेको थियो । त्यस्तै विप्रेषण आप्रवाह अमेरिकी डलरमा १० दशमलव ५ प्रतिशतले बढेको छ ।
यस्तै कुल विदेशी विनिमय संञ्चिती १८ अर्ब ४० करोड डलर पुगेको छ । यो रकम १४ दशमलव ६ महिनासम्मको वस्तु र सेवा आयात धान्न पर्याप्त छ । गत वर्ष २०८१ असार मसान्तमा यस्तो सञ्चिती २० खर्ब ४१ अर्ब १० करोड थियो । अमेरिकी डलरमा हेर्दा यो सञ्चिती २०८१ असारको १५ अर्ब २७ करोडबाट २०.५ प्रतिशतले बढेर १८ अर्ब ४० करोड पुगेको छ । यो सञ्चितीमध्ये नेपाल राष्ट्र बैंकसँग २२ खर्ब ११ अर्ब ११ करोड र अन्य बैंक तथा वित्तीय संस्थासँग ३ खर्ब १ अर्ब ८३ करोड छ ।
गत वर्षको तुलनामा राष्ट्र बैंकको सञ्चिती १९ दशमलव ६ प्रतिशत र अन्य वित्तीय संस्थाको सञ्चिती ५६ दशमलव ८ प्रतिशतले बढेको छ । यो सञ्चितीमा भारतीय मुद्राको हिस्सा २१ दशमलव २ प्रतिशत छ । राष्ट्र बैंकका अनुसार यो सञ्चिती कुल गार्हस्थ्य उत्पादनको ४१ दशमलव १ प्रतिशत, कुल आयातको १२१ दशमलव ४ प्रतिशत र विस्तृत मुद्रा प्रदायकको ३३ दशमलव ८ प्रतिशत छ ।

June 10, 2025, Jyotishsanchar press

