काठमाडाैं । गएको १२ घण्टामा देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा बढी कास्कीको लुम्लेमा एक सय ५१ मिलिमिटर वर्षा भएको छ।
यस्तै धनकुटामा एक सय २१, सुनसरीमा एक सय ३०, इलाम माइपोखरीमा एक सय २१ मिलिमिटर वर्षा भएको छ। यी चार स्थानमा अति भारी वर्षा मापन भएको विभागले जनाएको छ। अन्य धेरै जिल्लामा भारी वर्षा भएको छ।
पूर्वी नेपालमा बढी वर्षा भएको जानकारी दिँदै विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् संजीव अधिकारीले आज मध्य र पश्चिम क्षेत्रमा भारी वर्षा गराउने प्रणाली सर्दै आएको जानकारी दिए। भोलिसम्म यो अवस्था रहने र विस्तारै हट्दै जाने पनि उनले बताए।मौसमविद् अधिकारीका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ। यसका कारण नेपालमा वर्षा गराउने प्रणाली विकसित भएको हो।
अन्य भारी वर्षा भएका जिल्लामा सिन्धुपाल्चोक, कास्की, पर्वत, ओखलढुंगा, ताप्लेजुंग, पांचथर, तनहुं, खोटाङ, सोलुखुम्बु, संखुवासभा, तेह्रथुम, म्याग्दी, झापामा पनि पछिल्लो २४ घण्टामा भारी वर्षा भएको छ। अन्य केही पहाडी जिल्लाका पहाडी क्षेत्रमा पनि भारी वर्षा भएको विभागले जनाएको छ।

July 20, 2025, Jyotishsanchar press

