काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपद् व्यवस्थापन, प्रविधि विस्तार र पूर्वाधार विकासमार्फत नेपाल प्रहरीलाई थप सक्षम र आधुनिक बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
७१औँ प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले प्रहरीको क्षमता अभिवृद्धिका लागि नीतिगत सुधार, कानुनी सहजता र आधुनिक तालिमलाई प्राथमिकता दिइएको उल्लेख गर्नुभयो। उहाँले प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने सरकारको योजना रहेको पनि जानकारी दिनुभयो।
वित्तीय तथा साइबर अपराध नियन्त्रणका लागि नेपाल राष्ट्र बैंक, टेलिकम तथा इन्टरनेट सेवा प्रदायक र डिजिटल वालेटसँगको सहकार्यमा नागरिकका गुनासा सम्बोधन गर्ने व्यवस्था भइरहेको प्रधानमन्त्री शाहले बताउनुभयो। साथै, कृत्रिम बुद्धिमत्ता (एआई), एरियल सेक्युरिटी एन्ड सपोर्ट युनिट तथा इन्टिग्रेटेड एन्टिस्काम सेन्टर स्थापना गर्ने तयारी भइरहेको उहाँको भनाइ छ।
प्रधानमन्त्री शाहले कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा अशक्त प्रहरीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।

