काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले भोटेकोशी बाढीबाट उत्पन्न विपत्तिमा नेपाली सेनाले पुर्याएको योगदानको प्रशंसा गर्नुभएको छ।
शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा प्रधान सेनापति अशोकराज सिग्देलसँग भएको शिष्टाचार भेटवार्ताका क्रममा उहाँले मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता र आन्तरिक सुरक्षा कायम राख्न सेनाले निर्वाह गर्दै आएको भूमिकाको पनि प्रशंसा गर्नुभयो।
भेटमा समग्र सुरक्षा अवस्था तथा समसामयिक राष्ट्रिय विषयमा छलफल भएको थियो। प्रधान सेनापति सिग्देलले देशभरको सुरक्षा प्रबन्ध, सीमा सुरक्षा र शान्तिसुरक्षाको अवस्थाका साथै भोटेकोशी बाढीका बेला सेनाले गरेको उद्धार कार्यबारे जानकारी गराउनुभएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ।

