लुम्बिनी प्रदेशः सवारी दुर्घटनाबाट एक वर्षमा ५ सय ६ जनाको मृत्यु

लुम्बिनी । लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी ५ सय ६ जनाको मृत्यु भएको छ । जुन अघिल्लो आवको तुलनामा बढी हो । आव २०८०/८१ मा प्रदेशमा सवारी दुर्घटनामा ४९६ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ भएका तीन हजार ४७९ सवारी दुर्घटनामा पाँच हजार ६९१ जना घाइते भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार ट्राफिक प्रहरीले सवारीसाधनको जाँच र कारबाहीलाई तीव्र बनाइ रहँदा सवारी दुर्घटनाका घटनामा भने वृद्धि भएको जनाएको छ ।

अघिल्लो आव २०८०/८१ मा भने एक हजार १२० सवारी दुर्घटनामा एक हजार ६९३ जना घाइते भएका थिए । अघिल्ला वर्षहरूमा मध्यम र गम्भीर दुर्घटनाका घटनालाई मात्र तथ्याङ्कमा समावेश गर्ने गरिएकोमा गत आर्थिक वर्षमा सामान्य दुर्घटनाको तथ्याङ्कसमेत समावेश गरिएकोले सङ्ख्या बढी देखिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए ।

लुम्बिनी प्रदेशमा एक वर्षमा सवारी नियम उल्लङ्घन गर्ने विभिन्न सवारी चालकबाट रु १७ करोड ८३ लाख ८३ हजार ४११ जरिवाना सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलमार्फत आव २०८१/८२ मा प्रदेशका १२ वटै जिल्लामा गरिएको जाँचको क्रममा सवारी नियम उल्लङ्घन गर्ने एक लाख ७० हजार ८० वटा सवारीसाधनबाट उक्त जरिवाना सङ्कलन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

Accident

July 22, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको