काठमाडौँ । नेपालको अन्न भण्डारका रूपमा चिनिने मधेस प्रदेशलगायतका क्षेत्रमा यस वर्ष मनसुन प्रतिकूल हुँदा धान रोपाइँ गम्भीर रूपमा प्रभावित भएको छ । मधेस प्रदेश सरकारको सिफारिसमा सङ्घको मन्त्रिपरिषद्ले उक्त प्रदेशलाई तीन महिनाका विपद् सङ्टग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।
यता सरोकारवालहरूले धान उत्पादनमा नै ह्रास आउन सक्ने भन्दै चिन्ता जनाएका छन् । मधेस प्रदेशअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म मधेस प्रदेशमा जम्मा ४७ प्र्रतिशतमात्र रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागका अनुसार गत वर्ष यही समयमा मधेसमा करिब ८० दशमलव छ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो । यस प्रदेशमा तीन लाख ७२ हजार ६४५ हेक्टरमा रोपाइँ हुने गर्छ । विभागका अनुसार साउन ४ गतेसम्म मुलुकभर ७२ दशमलव १४ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष सोही अवधिमा ८४ दशमलव छ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो ।
मधेस प्रदेशअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डा सरोज चौधरीले वर्षा हुन नसक्दा धानको बीउ डढ्न थालेको, भइसकेको रोपाइँसमेत सिँचाइ नपाएर सुक्न थालेको बताए ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत हावापानी विज्ञान महाशाखा (हावापानी विश्लेषण शाखा) को तथ्याङ्कानुसार मनसुन अवधिमा मुलुकभर एक हजार ४०० मिलीमिटर सरदर वर्षा हुने गरेकामा हालसम्म करिब पाँच सय मिलीमिटर अर्थात् मनसुन अवधिमा हुने वर्षाको ३४ दशमलव नौ प्रतिशत वर्षा भएको छ ।
विभागले उपलब्ध गराएको जनकपुर, सिमरा, विराटनगर, पोखारालगायतका वर्षा मापन केन्द्रको तथ्याङ्क हेर्दा यी मापन केन्द्रमा औसतभन्दा कम वर्षा भएको छ । “जनकपुरमा मनसुन सुरू भएयता २० प्रतिशत वर्षा भएको छ । जनकपुरमा मनसुन अवधिमा औसत एक हजार १०० मिलीमिटर वर्षा हुने गर्छ”, शाखाले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

July 25, 2025, Jyotishsanchar press

