काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आवद्ध बनि देश र जनताको सेवा गर्ने संकल्प गर्नुलाई कुनै अनौठो र आश्चर्य मान्नुपर्ने विषय नरहेको स्पष्ट पार्नुभएको छ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू राजनीतिक व्यक्ति नै भएकाले राजनीतिमा पुनः सक्रिय हुनु नौलो कुरा नभएको बताउनु भयो । आफ्नो बाँकी जीवन राजनीतिमा लगाएर नै देश र जनताको सेवामा समर्पित हुने निर्णयमा पुगेको बताउनु भयो । कुनै पदप्रति लालसा, महत्वाकांक्षा र आशक्ति नरहेको पनि स्पष्ट पार्नुभयो ।
आफ्नो उद्देश्य पार्टीको सदस्य बन्ने, पार्टीलाई सबल, सुदृढ र एकताबद्ध बनाउने र राजनीतिमार्फत देश र जनताको सेवा गर्ने रहेको बताउनु भयो । जनताको बहुदलीय जनवादले संवैधानिक सर्वोच्चता र विधिको शासनलाई गहिरोसँग आत्मसात गरेको सन्दर्भमा यस सिद्धान्तको प्रतिकूल हुने गरी पार्टी सदस्य हुनबाट वञ्चित गर्नुपर्ने कुनै कारण नरहेको बताउनु भयो ।

July 25, 2025, Jyotishsanchar press

