कांग्रेसको १५औँ महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज रातिसम्म सार्वजनिक गरिने भएको छ।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आज रातिसम्म सबै पदको मतपरिणाम घोषणा भइसक्ने जानकारी दिएका छन्। सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहितका पदाधिकारीको मतगणना सम्पन्न भइसकेको छ भने केन्द्रीय सदस्यतर्फको मतगणना जारी रहेको छ।

हाल खुला, महिला, प्रदेशगत, समावेशी तथा अन्य समूहका केन्द्रीय सदस्यको मतगणना भइरहेको छ। खुला केन्द्रीय सदस्यतर्फ ४५ पदका लागि प्रतिस्पर्धा रहेको छ। निर्वाचन समितिले विभिन्न समूह बनाएर पार्टीको केन्द्रीय कार्यालय सानेपामा मतगणना अघि बढाइरहेको छ।

कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्। त्यस्तै, उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित भएका छन्। यसअघि वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका थिए।

महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डा. डिला सङ्ग्रौला तथा खुलातर्फको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी भएका छन्।

उम्मेदवारको सङ्ख्या धेरै भएकाले सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्न समय लागेको निर्वाचन समितिले जनाएको छ। सम्पूर्ण मतपरिणाम सार्वजनिक भएपछि कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको पूर्ण संरचना टुङ्गो लाग्नेछ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको