काठमाडौँ । नेपालीहरूको महान् चाड बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म २ लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौँ उपत्यका छाडेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार ३७ हजार ९६४ वटा सवारीसाधनमार्फत उक्त सङ्ख्यामा यात्रु उपत्यकाबाट बाहिरिएका हुन्।
दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा उपत्यकामा बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथलो फर्किन थालेपछि बसपार्क तथा प्रमुख नाकामा यात्रुको चाप बढेको छ।
उपत्यका छाड्ने यात्रुमध्ये १ लाख १५ हजार ८६ जना महिला र १ लाख ६१ हजार १६७ जना पुरुष रहेका छन्। घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा पनि चाप बढेको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ। यात्रुको चाप बढेपछि ट्राफिक प्रहरीले सवारी आवागमन व्यवस्थापन तथा सुरक्षा निगरानीलाई तीव्र बनाएको छ।
दसैँ, तिहारलगायत चाडपर्वका समयमा यात्रुको सुरक्षा सुनिश्चित गर्न र सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी चौबिसै घण्टा सडकमा खटिएको एसएसपी काफ्लेले बताए। उनले लामो दूरीको यात्रा गर्दा सवारीसाधनको अवस्था, चालकको स्वास्थ्य र सुरक्षित यात्रामा विशेष ध्यान दिन आग्रह गरेका छन्।
यातायात व्यवस्था विभागका अनुसार नागढुङ्गा–नौबिसे सडकखण्ड, मुग्लिन–नारायणगढ सडक, कान्ति लोकपथ र बीपी राजमार्गलगायतका प्रमुख सडकमा दुवैतर्फ यातायात सञ्चालन भइरहेको छ।

