खानेपानी समस्या समाधानका लागि साझा जिम्मेवारी आवश्यक : मन्त्री यादव

पर्सा । खानेपानीमन्त्री प्रदीप यादवले मधेस प्रदेशका आठ जिल्लाको खानेपानी सङ्कट समस्या समाधानका लागि सबै क्षेत्रको हातेमालोसँगै साझा जिम्मेवारी आवश्यक रहेको बताएका छन् ।

पर्सास्थित ठोरी गाउँपालिका–४ मा निर्माण सम्पन्न भएको ‘निर्मल बस्ती खानेपानी आयोजना’ उद्घाटन कार्यक्रममा मन्त्री यादवले तराई–मधेसका जिल्लाहरू हाल इतिहासकै एक गम्भीर जल सङ्कटको सामना गरिरहेका बताए । त्यसैगरी मन्त्री यादवले तराई–मधेसमा विकराल समयमा पनि आफूसहित सिङ्गो मन्त्रालय नागरिकका मौलिक अधिकारका रूपमा स्वच्छ र सुरक्षित खानेपानी सुनिश्चित गर्न अहोरात्र खटिएको जानकारी गराए ।

मन्त्री यादवले आफूले नेतृत्व गरेको खानेपानी मन्त्रालयको विशेष पहलमा नेपाल सरकारको मन्त्रिपरिषदबाट मधेस प्रदेशका आठ जिल्लालाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको बताए । मन्त्री यादवले ठोरी गाउँपालिका–४ मा निर्माण सम्पन्न भएको निर्मल बस्ती खानेपानी आयोजना ठोरी क्षेत्रको दीर्घकालीन खानेपानीको सङ्कट अन्त्यका लागि मन्त्रालयले दिगो र रणनीतिक समाधानतर्फ गरेको प्रयासको प्रतिबद्धताको मूल प्रतिविम्ब भएको दाबी गरे ।

यस आयोजनामार्फत ठोरीका कम्तीमा पनि दुई हजार १६५ जनसङ्ख्या प्रत्यक्ष रूपमा लाभान्वित हुने खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए ।

Pradip Yadab

July 26, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको