गण्डकीका पूर्वप्रदेश प्रमुख गुरुङको निधन

काठमाडौं । नेपाली कांग्रेसका निष्ठावान नेता, गण्डकी प्रदेशका पूर्वप्रमुख एवं लोकतान्त्रिक आन्दोलनका अथक योद्धा पृथ्वीमान गुरुङको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगसँग संघर्षरत ७६ वर्षीय गुरुङको शनिबार बिहान ८ बजे चितवनको भरतपुर-२६ स्थित आफ्नै निवासमा निधन भएको हो ।

गुरुङले आफ्नो राजनीतिक जीवनमा पार्टीको जिल्ला सभापतिदेखि प्रदेश प्रमुखजस्तो गरिमामय संवैधानिक पदसम्मको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका थिए । उनी वि.सं. २०७८ साउन १२ गते गण्डकी प्रदेशको प्रमुखमा नियुक्त भएका थिए। यसअघि उनले नवलपरासी जिल्ला भूमि आयोगको अध्यक्षको भूमिका पनि निर्वाह गरिसकेका थिए ।

वि.सं. २००६ मा कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित ल्वाङघलेलमा जन्मिएका गुरुङले पछि चितवन बसाइँ सरेर यसैलाई कर्मथलो बनाएका थिए । उनले वि.सं. २०४६ सालको जनआन्दोलनमा परिचालन समितिको सदस्य भएर महत्वपूर्ण भूमिका खेलेका थिए । गुरुङका श्रीमती र एक छोरा छन् । उनका जेठो छोराको भने यसअघि नै निधन भइसकेको थियो । हाल कान्छा छोरा देश बाहिर रहेकाले उनको अन्त्येष्टि आइतबार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Prithi Man Gurung

July 26, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको