यातायात कार्यालय हेटौँडाद्वारा ५७ करोड राजस्व सङ्कलन

बागमती । यातायात व्यवस्था कार्यालय हेटौँडाले आर्थिक वर्ष २०८१/८२ मा ५७ करोड ४२ लाख ७६ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा नयाँ सवारीसाधन दर्ता, नवीकरण तथा सवारी चालक अनुमति पत्र वितरण लगायतबाट उक्त राजस्व सङ्कलन भएको हो।

यस अवधिमा साना र ठूला गरी ६ हजार ९५ नयाँ सवारीसाधन दर्ता भएका कार्यालय प्रमुख प्रविण श्रेष्ठले जानकारी दिए । अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा रु एक करोड ३५ लाख ५९ हजार बढी राजस्व तथा एक हजार ६९६ बढी नयाँ सवारीसाधन दर्ता भएका छन् ।

कार्यालयले आव २०८०/८१ मा नयाँ सवारीसाधन दर्ता, नवीकरण तथा सवारी चालक अनुमति पत्र वितरण लगायतका शीर्षकबाट रु ५६ करोड सात लाख १७ हजार राजस्व सङ्कलन गरेको थियो । उक्त आवमा कार्यालयले चार हजार ३९९ सवारीसाधन दर्ता गरेको प्रमुख श्रेष्ठले बताए ।

आव २०८१/८२ मा सवारीसाधन चालक अनुमति पत्र वितरणबाट नौ करोड ६२ लाख ८१ हजार, सवारी करबाट रु ३४ करोड ७९ लाख ९८ हजार, यातायात क्षेत्रको आम्दानीबाट आठ करोड ९५ लाख ९४ हजार, सङ्घीयतातर्फ चार करोड तीन लाख ९४ हजार तथा बेरुजुबाट आठ हजार राजस्व सङ्कलन भएको छ।

यस्तै आव २०८१/८२ मा मोटरसाइकल तीन हजार २२५, टेम्पो/ई–रिक्सा ८८९, जीप/कार/भ्यान ७६१, क्रेन/डोजर/एस्काभेटर/ट्रक ६८६, माइक्रो बस २८६, बस १४१, मिनी बस २० तथा ट्याक्टर १२ वटा दर्ता भएका प्रमुख श्रेष्ठले जानकारी दिए । यस अवधिमा सात हजार १२० सवारी चालक अनुमति पत्र वितरण गरिएको छ । सो अवधिमा ६ हजार ३७१ नवीकरण, ९२ प्रतिलिपि, ९७ वटा नवीकरण र प्रतिलिपि दिइएको कार्यालयले जनाएको छ।

Yatayata Office Hetauda

July 30, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको