वागमती काँग्रेसमा इन्द्र बानियाँको जित

हेटाैंडा । वागमती प्रदेशको नेपाली काँग्रेसमा लामो समयदेखि चल्दै आएको आन्तरिक शक्ति संघर्ष अन्ततः निर्णायक मोडमा पुगेको छ।

बुधबार सम्पन्न मतदानमा मुख्यमन्त्री बहादुरसिंह लामालाई पराजित गर्दै इन्द्र बानियाँ संसदीय दलको नेता निर्वाचित हुनुभएको छ। कुल ३७ जना सांसदहरूमध्ये बानियाँले २२ मत प्राप्त गर्नुभएको छ भने लामाले १४ मत मात्र प्राप्त गर्नुभयो । एक मत बदर भएको छ ।

साढे दुई वर्षदेखि काँग्रेस संसदीय दलको नेतृत्व सम्हाल्दै आउनुभएका मुख्यमन्त्री लामा अब दलको नेताबाट बाहिरिनुभएको छ । दलको नेताबाट पराजित भएपनि मुख्यमन्त्री पदबाट भने राजीनामा नदिने लामाको अडान रहेको छ। लामाले आफू संविधानको धारा १६८ (२) अनुसार नियुक्त भएको बताउँदै, दलको नेता नभए पनि मुख्यमन्त्री पदमा रहन पाउने दाबी गर्नुभयो । साथै संविधानले दुई वर्षसम्म विश्वासको मतविरुद्ध प्रश्ताव ल्याउन नपाइने व्यवस्था गरेको भन्दै उहाँले पद नछोड्ने अडान लिनुभएको हो ।

यता बानियाँले भने लोकतान्त्रिक अभ्यासअनुसार लामाले राजीनामा दिनुपर्ने धारणा राख्नुभयो । उहाँले दलको निर्णयअनुसार आफू काँग्रेसको आधिकारिक नेता भइसकेको भन्दै यदि लामा पदबाट नहट्ने हो भने लोकतान्त्रिक अभ्यासअनुसार प्रक्रियाबाटै बिदाइ गर्ने बताउनु भयो ।

यसैबीच लामाको नेतृत्वमा रहेको वागमती प्रदेश सरकार थप संकटमा छ। लामाविरुद्ध अविश्वासको प्रश्ताव दर्ता भएपछि उहाँको पक्षमा रहेका पाँच जना मन्त्रीले राजीनामा दिँदै बानियाँको समर्थनमा उभिएपछि उनको पकड कमजोर भएको छ। अर्कोतर्फ सरकार साझेदार दल नेकपा एमाले वागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले काँग्रेसको आन्तरिक कलह समाधान नगरे एमाले सत्तामा आउन तयार रहेको बताउनु भयो । उहाँले कुनैपनि पार्टीको आन्तरिक द्वन्द्वले सरकारको संघीय संरचनामा समस्या ल्याउन नहुने चेतावनी दिनुभयो ।

यो प्रतिष्पर्धा बानियाँ र लामाबीचको दोस्रो प्रतिष्पर्धा हो । २०७९ को पुस १३ मा भएको संसदीय दलको पहिलो निर्वाचनमा बानियाँ पाँच मतले पराजित हुनुभएको थियो । त्यसपछिका साढे दुई वर्षमा परिस्थितीले नयाँ मोड लिँदै जाँदा लामाविरुद्धको असन्तुष्टि बढ्दै गएको थियो । गुटगत राजनीति र नेतृत्वको शैलीप्रति बढ्दो असन्तोषबीच बानियाँले अन्ततः बहुमतको समर्थनसहित दलको नेतृत्व हात पार्न सफल हुनुभएको छ।

Indra And Bahadur

July 30, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको