काठमाडौँ । वन्यजन्तुबाट कृषिमा हुने क्षति, जलवायु परिवर्तन र स्थानीय स्रोत–साधनको संरक्षणमा आधारित सात बुँदे माग राख्दै आमरण अनसनमा बसेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र सरकारबीच सैद्धान्तिक सहमति भएको छ ।
आइतबार माइतीघर मण्डलामा नगरप्रमुख भट्टराईको तर्फबाट पत्रकार सम्मेलन गर्दै सरकारसँग ७ बुँदे मागमा सैद्धान्तिक सहमति भएको जानकारी गराइएको हो । नगरप्रमुख भट्टराईले श्रावण ११ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा चरणबद्धरुपमा सत्याग्रह गर्नुभएको थियो । श्रावण १४ गते राति अचानक स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई चिकित्सकको सल्लाहमा वीर अस्पताल भर्ना गरिएको थियो ।
भट्टराईको अनसनपछि राष्ट्रिय मानव अधिकार आयोगले विज्ञप्तिमार्फत नेपाल सरकारलाई गम्भीर ध्यानाकर्षण गराएको थियो । त्यही सिलसिलामा वन तथा वातावरण मन्त्रालयको पहलमा श्रावण १५ र १७ गते दुई चरणमा ५ घण्टासम्म वार्ता भएको थियो । उक्त सहमति ४५ दिनभित्र कार्यान्वयन गर्ने सरकारले प्रतिवद्धता जनाएको छ ।

August 3, 2025, Jyotishsanchar press

