काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कागजी प्रक्रियालाई अब हटाउँदै लैजानुपर्ने बताउनुभएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा गोष्ठीलाई बुधबार सम्बोधन गर्दै अधिकारीले कागजी प्रक्रियाबाट भन्दा पनि जुनसुकै चिजहरु पनि मोबाइलका माध्यमबाट सेवाग्राहीले सेवा उपयोग गर्न पाउने वातावरण बनाउनुपर्ने बताउनुभएको हो । उहाँका अनुसार मुलुकभर रहेको सबै कार्यालयलहरुलाई डिजिटलाइज गर्न जरुरी छ। कृषिमन्त्री अधिकारीले विषादी राखेर उत्पादन गरेका वस्तुहरुलाई बजारमा नल्याउनका लागि मात्रै नभई त्यसमा संलग्न नहुनका लागि पनि जनचेतनाको जरुरी रहेको बताउनुभएको छ ।
मान्छेले विषदी राखेर उत्पादन गर्ने र तत्कालै धेरै कमाउने इच्छा राखेकै कारण बजारमा विषादी राखेका वस्तुहरु बढेको उहाँले बताउनु भयो । उहाँले जनैपूर्णिमा, तीज, दशैँ, तिहारजस्ता चाडपर्व नजिक आइरहेकाले खाद्य वस्तुहरुको परिक्षणमा कडाईका साथ लाग्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकारीहरुलाई निर्देशन दिनुभयो । अहिले पनि खाद्य परिक्षणमा जनशक्तिको अभाव कायमै रहेको आफू जानकार रहेको बताउँदै अधिकारीले आगामी दिन जनशक्ति व्यवस्थापनलाई प्राथमिकतामा राखिने बताउनु भयो ।

August 6, 2025, Jyotishsanchar press

