काठमाडौँ । नेपाली काँग्रेस र नेकपा एमाले बाहेकका संसदमा प्रतिनिधित्व गर्ने नौ राजनीतिक दलहरुले निर्वाचन आयोगले ल्याएको स्वमूल्यांकन कार्यविधि, २०८२ को लिखितरुपमा संयुक्त विरोध जनाउने निर्णय गरेको छ।
बुधबार सिंहदरबारमा बसेको प्रमुख प्रतिपक्ष दल नेकपा(माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायतका राजनीतिक दलहरुले यस्तो निर्णय गरेका हुन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले निर्वाचन आयोगले पठाएको स्वमूल्यांकन कार्यविधिको बिहीबार अन्तिम मिति रहेको र त्यसका लागि नौ राजनीतिक दलहरुले लिखित असहमति जनाउने निर्णय भएको बताउनु भयो । यो संविधान, राजनीतिक दलसम्बन्धी ऐनको विपरित रहेको उहाँको भनाइ छ।
निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन आह्वान गर्दै पठाएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ का विषयमा गम्भीर आपत्ति जनाउँदै बुधबार काँग्रेस–एमाले बाहेकका दलहरू छलफलमा जुटेका हुन् । बैठकमा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टी, लोसपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चालगायतका दलहरूको सहभागिता रहेको छ।

August 7, 2025, Jyotishsanchar press

