काठमाडाैं । वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफू पदको लागि र फोटो टाँस्नको लागि मात्रै मुख्यमन्त्री नभएको बताउनुभएको छ।
नेपाल किसान महासंघ वागमती प्रदेशको प्रथम अधिवेशनलाई बिहीवार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पारदर्शी, उत्तरदायी र जनताप्रतिको जिम्मेवारी भएर काम गर्ने लक्ष्यसहित आफू मुख्यमन्त्री भएको उहाँको भनाइ छ । अरु मुख्यमन्त्रीले के गरे गरेनन् भन्दा पनि आफूले काम गरेर देखाउने उहाँले बताउनु भयो । उहाँले आफूले मुख्यमन्त्री भएपछि पहिलो निर्णय नै प्रदेशभित्र रहेका गरिब विपन्नहरुको पक्षमा हुनेगरी गरेको जानकारी दिनुभयो ।
गरिब, विपन्न, सिमान्तकृत, दलित, चेपाङ, जिरेल, भोटे, वनकरियाहरुमध्येका छोराछोरीहरुलाई प्रदेश सरकारले २/२ वटा मेडिकल डाक्टर, आयुर्वेद डाक्टर र पशु चिकित्सक डाक्टर गरी ६ जनालाई छात्रवृत्तिमा डाक्टर पढाउने बताउनु भयो । प्रदेश सरकारले गरिबका १० वटी छोरीहरुलाई नर्स पढाउने निर्णय पनि गरिसके उहाँले जानकारी दिनुभयो ।
बानियाँले आफूले मुख्यमन्त्रीको हैसियतले पाउने तलबभत्ता लगायतका सुविधा पनि नलिने बताउनु भयो । आफूले पाउने तलबभत्ता आफ्नो निर्वाचन क्षेत्र लगायतका गरिब, निमुखा जनताको पक्षमा काम गर्नको लागि दिने जानकारी दिनुभयो ।

August 7, 2025, Jyotishsanchar press

