काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले ‘जलस्रोत विधेयक, २०८१’लाई सर्वसम्मतिले पारित गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए । त्यसअघि विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ माथि बैठकमा छलफल गरिएको थियो ।
छलफलमा सांसदहरु विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाया, राधेश्याम पासवान, गोपाल भट्टराई र तारामान स्वाँरले सो विधेयकका विभिन्न पक्षमा आफ्नो धारणा राखेका थिए । सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्काले जलस्रोतको उपयोग, व्यवस्थापन गर्ने उद्देश्यका साथ जलस्रोत विधेयक प्रस्तुत गरिएको बताए ।
उनले संविधानमा नै समावेशीताको प्रबन्ध भएकाले विधेयकमा दलितलगायतका विषय उल्लेख गर्नु नपर्ने सबै सदस्यको धारणा रहेकाले सोही अनुसार गरिएको बताए । विधेयकमा उल्लेख भएको बाँधको सुरक्षाको विषयलाई थप प्रष्ट पारिएको उनले बताए ।
यस्तै, साउन ५ गते ८५ वर्षको उमेरमा निधन भएका प्रतिनिधिसभाका पूर्वसदस्य खगराज शर्माको निधनप्रति दुःख व्यक्त गर्दै बैठकले शोक प्रस्ताव पारित गरेको छ। राष्ट्रियसभाको अर्को बैठक साउन २७ गते मङ्गलबार दिउँसो १ः१५ बजे बस्नेछ।

August 8, 2025, Jyotishsanchar press

