सरकारलाई नागरिकको ओछ्यानसम्म जाने अधिकार छैनः महामन्त्री शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नागरिकको चियो गर्ने अधिकार सरकारलाई नभएको बताउनुभएको छ।

सरकारले ‘राष्ट्रिय गुप्तचर (इन्टेलिजेन्स) तथा अनुसन्धानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदा सार्वजनिक भएपछि विरोध हुन थालेको छ । महामन्त्री शर्माले नागरिकमाथि शंका गर्दै आँगनसम्म पुग्ने अधिकार भएपनि ओछ्यानमा नै पुगेर अनुसन्धान गर्ने अधिकार सरकारसँग नभएको टिप्पणी गर्नुभयो । उहाँले व्यक्तिको फोन संवाद सुन्नु, रेकर्ड गर्नु भनेको व्यक्तिको गोपनीयताको हकको सरकारले नै हनन गर्ने अवस्था भएको बताउनु भयो । नागरिकलाई सुरक्षा दिन्छु भन्ने सरकारले निगरानी गर्ने वदनियत राख्ने अवस्था बनाउनु निन्दनीय रहेको उहाँको तर्क छ।

नेपालमा कानूनको दुरुपयोग, अपव्याख्या धेरै हुने हुँदा यस्ता कानूनहरु सत्ता र शक्तिमा बस्नेहरुले आफू अनुकुल प्रयोग गर्ने जोखिम रहेको महामन्त्री थापाको भनाइ छ । उहाँले सरकारले जनतालाई स्पष्टरुपमा भनेर मात्र यस्ता कानूनहरु निर्माण गर्नुपर्ने बताउनु भयो । महामन्त्री शर्माले २०७६ मा केपी शर्मा ओली नै प्रधानमन्त्री भएको समयमा यस्तै कानून ल्याउन खोज्दा धेरै विरोध भएपछि अगाडि बढ्न नसकेको उल्लेख गर्दै अहिले पनि सोही व्यक्ति प्रधानमन्त्री हुँदा ल्याउन खोज्दा शंकाको दृष्टिले हेर्नुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो ।

सरकारले मस्यौदा गरेको यो विधेयकले नेपालको संविधानको धारा १८ ले दिएको गोपनीयताको हक नै हनन गर्ने भन्दै चौतर्फी विरोध भइरहेको छ।

Bishwo Prakash

August 9, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको