काभ्रेपलाञ्चोक । जिल्लाको भुम्लु गाउँपालिकाको दुई वडामा पाँच दशक अघिदेखि विद्यमान लालपूर्जाको समस्या समाधान हुने भएको छ । विसं २०३२ देखि गाउँपालिकाको (तत्कालीन भुम्लु र फलाँटे गाविस) हालका दुई वडाका बासिन्दा लालपूर्जाको पखाईमा थिए । जिल्लास्थित नापी कार्यालयले भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको उपस्थितिमा लालपूर्जा वितरण कार्यको थालनी गर्ने भएको हो ।
कार्यालयका अनुसार हाल दुई वडाका चार सय ५० वटा लालपूर्जा बनेको छ भने सोही हाराहारीमा छानबिन गरी लालपूर्जा बनाउन बाँकी छ। कार्यालय प्रमुख अशोककुमार भुसालले वडा नं ७ मा तीन सय र वडा नं ८ मा छ सय लालपूर्जा बनाउनुपर्ने देखिएको बताए । उनका अनुसार उक्त गाउँपालिकाको समस्याग्रस्त दुई वडामा छानबिनका लागि विसं २०७१ जेठ २५ गतेदेखि नापी टोली गाउँमा खटाइएको थियो ।
कार्यालयले नापी टोली खटाएको ११ वर्षपछि स्थानीय जग्गाधनीले आफ्नो जग्गाको लालपूर्जा पाउने भएका हुन् । घटनाक्रम अनुसार साविकको पिपलटार गाविस हुँदादेखि कमाइ गर्दै आइएको ‘टार’ भन्ने खेतीयोग्य जमिन पिपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे गाविस दुवैमा परेपछि उक्त जमिन कुन गाविसले लिने भन्ने विषयमा विवाद भएको थियो । विसं २०३२ मा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्वको विवादका कारण नापी टोली फर्किएपछि स्थानीयले लालपूर्जा पाउन सकेका थिएनन ।

August 17, 2025, Jyotishsanchar press

