हमासको कब्जामा रहेका विपिन जोशीका आमा र बहिनीले भेटे इजरायली राष्ट्रपति

तेल अविव । हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइको पहलस्वरुप उनकी आमा पदमा जोशी र बहिनी पुष्पा जोशीले आइतबार इजरायलका राष्ट्रपति आइज्याक हेर्जग र संसद अध्यक्ष अमिर ओहानासँग भेटघाट गरेका छन्।

नेपाली राजदूत धनप्रसाद पण्डितको साथमा भएको भेटमा आमा पदमा जोशीले छोरा विपिन निर्दोष विद्यार्थी भएको भन्दै उनको शीघ्र रिहाइका लागि उच्चस्तरीय पहल गर्न आग्रह गरिन् । त्यस्तै, बहिनी पुष्पा जोशीले पनि हमासको बन्धकबाट विपिनलाई मुक्त गराउन सक्दो प्रयास गर्न इजरायली राष्ट्रपति समक्ष अपिल गरिन्।

राष्ट्रपति हेर्जगले विपिन जोशी २०२३ अक्टोबर ७ मा भएको हमासको आक्रमणमा परेर बन्धक बनाइएकामा दुःख व्यक्त गर्दै उनको रिहाइका लागि इजरायली सरकार निरन्तर प्रयासरत रहेको बताए। राष्ट्रपति हेर्जगले यस विषयमा नेपाली सरकार पक्षबाट समेत सम्बन्धित अरब मुलुकहरूसँग संवाद अघि बढे थप सहयोग पुग्ने धारणा व्यक्त गरे।

संसद अध्यक्ष अमिर ओहानाले पनि विपिनप्रति विशेष चासो रहेको उल्लेख गर्दै उनको खोजी र मुक्तिका लागि इजरायलले बलियो पहल गरिरहेको बताए। उनले हालै जेनेभामा भएको नेपाल–इजरायलबीचको उच्चस्तरीय भेटमा समेत विपिनको मुद्दा उठाइएको स्मरण गरे।

आमा र बहिनीले आइतबार नै राजधानी जेरुसेलममा अन्य सरकारी उच्च अधिकारीहरूसँग पनि भेट गरी विपिनको रिहाइका लागि समर्थन जुटाउने प्रयास गरेका छन्।

Image

August 18, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको