काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दुई अर्बभन्दा बढी मानिसका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जीवनयापनमा योगदान पुर्याएको नेपालको जैविक विविधता संकटमा रहेको बताउनुभएको छ।
सोमवार काठमाडौंमा हिन्दुकुश हिमालय संसदीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेपाली क्षेत्रका हिमालबाट बग्ने नदीको पानी, वनबाट प्राप्त हुने अक्सिजन, कृषियोग्य भूमिको उर्वरताले यहाँका दुई अर्ब भन्दा बढी मानिसका लागि प्रत्यक्ष वा अप्रत्यक्षरुपमा जीवनयापनमा योगदान पुर्याएको बताउनु भयो । उहाँले अहिले नेपालसहित हिन्दुकुश हिमालय देशहरु संकटासन्न अवस्थामा रहेको भन्दै सबै मिलेर यसलाई पार लगाउनुपर्ने बताउनु भयो । उहाँले जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वायु प्रदुषण अब केबल वैज्ञानिक प्रतिवेदनमा सिमित नभइ दैनिक जीवनको कठोर यथार्थ बनेको जिकिर गर्नुभयो ।
हिन्दुकश हिमालय क्षेत्रको भुगोल, हिमालय क्षेत्र, वन, नदी र वायुमण्डलको भविष्यबारे दृढ संकल्प जनाउने अवसरका रुपमा आफूले सम्मेलनलाई लिएको विश्वास व्यक्त गर्नुभयो । विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियससम्म सिमित गर्न पेरिस सम्झौतामा गरिएको प्रतिवद्धता पूरा गर्न सम्बन्धित पक्षहरुले आफ्नो आफ्नो ठाउँबाट योगदान पुर्याउनु आजको आवश्यकता भएको बताउँदै उहाँले हिमालय क्षेत्रमा तापक्रम औषतभन्दा धेरै वृद्धि भएको बताउनु भयो । उहाँले नेपाल जैविक विविधताका दृष्टिले धनी रहेको उल्लेख गर्दै विश्वका दुर्लव वनस्पति र जनावरको बासस्थान नेपालमा रहेको बताउनु भयो ।

August 18, 2025, Jyotishsanchar press

