भुम्लु । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नं ७ र ८ का लालपूर्जाबिहीन नागरिकले बल्ल पूर्जा पाएका छन् ।
दुई वडाबासीका ४२३ जनाले ५० वर्षपछि आफ्नो जग्गाको लालपूर्जा पाएका हुन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मङ्गलबार पालिकामा आयाेजित कार्यक्रममा पहिलाे चरणमा ४२३ नागरिकलाई लालपूर्जा वितरण गरिएकाे हाे ।
अब यतिकै संख्यामा पूर्जा वितरणकाे तयारी भइरहेकाे नापी कार्यालय धुलिखेलका प्रमुख अशाेक भुषालले जानकारी दिनुभयाे ।
विसं २०३२ देखि गाउँपालिकाको (तत्कालीन भुम्लु र फलाँटे गाविस) हालका दुई वडाका बासिन्दा लालपूर्जाको पखाईमा थिए । प्रारम्भिक चरणमा भुम्लु गाउँपालिका वडा नं ७ र ८ का जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको छ । मङ्गलबार वडा नं ७ का १७७ र वडा नं ८ मा २४६ जग्गाधनीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको कार्यालयले जानकारी दिएको छ ।
यसका लागि नापी कार्यालय काभ्रेपलाञ्चोकले विसं २०७१ जेठ २५ गतेदेखि स्थानीय तहमा नापी टोलीले काम गरिरहेको थियो । काभ्रेपलाञ्चोकका सांसद एवं तत्कालीन मन्त्री गोकुल बाँस्कोटाले विसं २०७६ मंसिर २० गते भुम्लु गाउँपालिकामा फिल्ड कार्यालयको शुभारम्भ गरेका थिए ।
साबिकको पिपलटार गाविस हुँदादेखि नै कमाई गर्दै आइएको ‘टार’ भन्ने खेतीयोग्य जमिन पिपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे दुवै गाविसमा परेको थियो । तत्कालीन समयमा खेतीयोग्य जमिनमा दुवै गाविसले दाबी गरेपछि विवाद भएको थियो । विसं २०३२ मा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्वको विवादका कारण काम हुन सकेको थिएन । विसं २०३५ मा पनि काम नभएपछि स्थानीयले जग्गाको लालपूर्जा पाउन सकेका थिएनन् ।

August 20, 2025, Jyotishsanchar press

