रासायनिक मल वितरणमा हुने अनियमितता रोक्न कृषिमन्त्री अधिकारीको निर्देशन

जनकपुरधाम । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको अन्न भण्डार मधेस प्रदेशका किसानलाई रासायनिक मलको वितरण गर्दा हुने समस्या तथा अनियमितता रोक्न निर्देशन दिएका छन् ।

मधेस प्रदेश सुक्खाग्रस्त घोषणा भएपछि विभिन्न पार्टीका सांसदसहित मधेस प्रदेशको स्थलगत निरीक्षण तथा छलफलका लागि आएका मन्त्री अधिकारीले मल वितरणको समस्या दिगोरूपमा समाधान गर्न ठोस योजनासहित अगाडि बढ्नुपर्ने बताए ।

जनकपुरधामस्थित सङ्घीय र प्रदेशलगायतका सरोकारवाला निकायका प्रमुख तथा पदाधिकारीसँग भएको छलफलमा मन्त्री अधिकारीले किसान मल नपाएर भौँतारिरहेकाे भन्ने समाचार आएको उल्लेख गर्दै मल वितरण गर्ने निकायले जिम्मेवारीपूर्वक काम नगरेको तथा उत्तरदायी नभएको देखिए कारबाही गर्ने स्पष्ट पारे ।

अहिले नेपालमा २६ करोड मूल्य बराबरको चार लाख ९३ हजार मेट्रिक टन मल आएको बताउँदै उनले यस्तो अवस्थामा किसानले मल नपाउनु दुःखद विषय भएको उल्लेख गरे । अहिले मधेसमा उखु किसानले प्राप्त गर्दै आएको प्रतिक्विन्टल रु ७० अनुदानको रकम हटाइएको विषयलाई पुनः कायम गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

सोही अवसरमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रासायनिक मलको वितरणमा व्यापक अनियमितता भएकाले मधेस प्रदेशमा रहेका कृषि सामग्री कम्पनी लिमिटेड तथा साल्ट ट्रेडिङ कर्पोरेशनका कार्यालय प्रमुख तथा कर्मचारीलाई तत्काल सरुवा गर्न माग गरे ।

मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीले जनार्दनसिंह क्षेत्रीले अहिलेसम्म मधेस प्रदेशमा ८७ प्रतिशत धान रोपाइँ भएको छ, त्यो गत वर्षको तुलनामा १० प्रतिशत कम रहेको जानकारी दिए ।

Ramnath Krishimantri

August 20, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको