काठमाडौं । नेपाली हिन्दू महिलाले मनाउने चाड तीज अन्तर्गत आज दर खाने दिन हाे । विभिन्न मीठा परिकारका साथ दर खाएर याे पर्व मनाइँदैछ। दुःख भुलाउन भोलिपल्ट बस्ने हरितालिका तीजको व्रत भन्दा अगाडि महिला दिदी बहिनीलाई दर खुवाउने गरिन्छ।
तीजको पहिलो दिनलाई दर खाने दिन भनिन्छ। सनातन हिन्दू धर्मावलम्बी नेपाली महिलाले विशेष तयारीका साथ तीज पर्व मनाउने क्रम यो दिनबाट प्रारम्भ हुन्छ।
विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहितले सुयोग्य पतिको माग गर्दै भोलिपल्ट निराहार व्रत बस्ने उद्देश्यले यो दिन घरघरमा खासगरी दूधबाट बनेका मिष्ठान्न परिकार तयार गरी दर खाने चलन छ।
महिला यो दिन माछामासुबाहेक चोखो चिज खाएर भोलिपल्ट निराहार व्रत बस्ने गर्दछन्। दरमा खीर, गुँद, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ र सेलरोटी खाने गरिन्छ। स्थान अनुसार दरखाने परिकार फरक फरक छन्। आधुनिकतासँगै खाने परिकारहरूमा पनि फरक आउन थालेको छ।
खासगरी पहाडीमूलका सनातन हिन्दू धर्म अन्तर्गतका महिलाले लिने गरेको पर्व तीज भए पनि हिजोआज अरु समुदायका महिलाले पनि तीज मनाउन थालेका छन्। दर खाएको भोलिपल्ट निराहार व्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक भएको खानेकुरा खाने चलन छ। हरितालिका तीजका बेला पानीसमेत नखाई व्रत बस्ने र धेरै नाचगान गरिने हुनाले शक्ति आवश्यक हुन्छ।
परापूर्व कालमा देवी पार्वतीले शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र सोही व्रतका कारण उनको कामना पूरा भएको विश्वासका आधारमा राम्रो पति पाउन र विवाहितले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै व्रत बस्ने चलन छ।

August 25, 2025, Jyotishsanchar press

