काठमाडाैं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०८४ सम्म वर्तमान सरकारभन्दा अर्को स्थिर शक्तिशाली सरकार बन्न नसक्ने बताउनुभएको छ।
काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकार एमाले र नेपाली काँग्रेस मिलेर बनेको शक्तिशाली सरकार भएकाले २०८४ सम्म अर्को सरकारको परिकल्पना नै गर्न नसकिने बताउनुभएको हो । उहाँका अनुसार वर्तमान सरकारले बजेट विनियोजनदेखि प्राथमिकतामा देखिएको विकृतिलाई निर्ममरुपमा सुधारेको छ ।
मुलुकमा अहिले स्थिर सरकार भएकै कारण कानूनी सुधार गरिएको र लगानीकर्तामा समेत मनोबल बढेको पौडेलको भनाइ छ । उहाँले सरकारले योजना बनाउँदा प्राथमिकतालाई आधार मान्ने बताउनु भयो । उहाँका अनुसार योजना आयोगले योजना बनाइदिएपछि त्यो योजना ठिकठाक हुन्छ भन्ने ठान्नु हुँदैन । योजना निर्माण गर्दा प्राथमिकतामा आधारित छ वा छैन त्यसमा ख्याल गर्नुपर्ने उहाँको भनाइ छ ।
अहिले योजना निर्माण र विनियोजनमा गम्भीर समस्यासमेत रहेको बताउँदै उहाँले त्यो समस्याबाट बाहिर निस्कनका लागि प्रयास भइरहेको बताउनुभयाे ।

August 28, 2025, Jyotishsanchar press

