काठमाडाैं । दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पार्न थालेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपछि नेपाल टेलिकम र एनसेलले दर्ता नभएका सामाजिक सञ्जाल देशभर निष्क्रिय पारेका हुन् ।
सरकारको निर्देशन अनुसार नेपाल टेलिकमले सूचना निकालेर नेपालमा सूचीकरण नभइ सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गराउन पत्र लेखी आएकाले त्यसै निर्देशनबमोजिम त्यस्ता सामाजिक प्लेटफर्महरू हालका लागि बन्द गरिएको जनाएको छ ।
टेलिकमले प्राधिकरणको पत्र र सर्वोच्च अदालतको आदेश, नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबमोजिम यस्तो निर्णय गरिएको जनाएको छ । एनसेलले पनि सरकारको निर्देशनअनुसार आफ्नो नेटवर्कमा नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरिएको जनाएको छ।
उता इन्टरनेट सेवा प्रदायकहरूको छाता सङ्गठन इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आइस्पान) ले सूचीकृत हुन नआएका सामाजिक सञ्चाल निष्क्रिय बनाउने निर्णय कार्यान्वयनको तयारी शुरु गरेको जनाएकाे छ ।

September 5, 2025, Jyotishsanchar press

