काठमाडौँ । गत वैशाखदेखि हालसम्म देशभर भएका विपद्का घटनामा २४३ जनाकाे मृत्यु भएकाे छ । कूल तीन हजार ६८१ विपद्का घटना भएका छन् । जसबाट ६ हजार ५९० घर परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
सो अवधिमा ८६९ जना घाइते भएका छन् । यस्तै, २४ जना बेपत्ता भएका छन् । प्राधिकरणका अनुसार ५ महिनाको अवधिमा सबैभन्दा बढी आगलागीमा घटना भएका छन् । एक हजार २९५ वटा आगलागीका घटना हुँदा २३ जानको मृत्यु भएको छ भने एक सय ७७ जना घाइते भएका छन् । आगलागीमा परेर एक हजार ४११ घरपरिवार प्रभावित भएका छन् ।
बाढीका २६३ घटना हुँदा २९ जनाको मृत्यु भएको छ। बाढीमा परेर २३ बेपत्ता, १४ घाइते हुँदा एक हजार ८६१ परिवार प्रभावित भएको प्राधिकरणको विवरणमा उल्लेख छ।
यस्तै, ४६३ वटा पहिरोका घटना भएका छन् । पहिरोमा परेर २४ जनाको मृत्यु भएको छ भने ४१ घाइते भएका छन् । यसैगरी यसबीचमा भारी वर्षाका मात्रै ३४० घटना भएका छन्। त्यसमा परेर छ जनाको ज्यान जाँदा १४ घाइते भएका छन् भने ८११ परिवार प्रभावित भएका छन्।

September 20, 2025, Jyotishsanchar press

