काठमाडौँ । बडादशैंको छैठौं दिन आज नवदुर्गामध्येकी कात्यायनी देवीको पूजा आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप आश्विन शुक्ल षष्टी तिथीमा कात्यायनी देवीको पूजा आराधना गर्न लागिएको हो।
पुराणअनुसार कात्यायन ऋषिको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिएकी थिइन्। महिषासुर नामक दैत्यको विनाशका लागि ब्रह्मा, विष्णु र महेश्वरको अंशबाट देवी उत्पन्न भइन्।
यिनै कात्यायन ऋषिद्वारा पुजित भएकीले यिनको नाम कात्यायनी भएको हो। सिंहवाहिनी कात्यायनीले महिषासुरको वध गरेको दुर्गा सप्तशतीमा आउँछ। चार हातमध्ये दुई हातमा तरवार, कमल पुष्प लिएकी र दुई हातले अभय र वरद मुद्रा प्रदर्शन गरेकी छिन्। यिनको आराधनाबाट सम्पूर्ण संकट नाश हुने विश्वास गरिन्छ।

September 26, 2025, Jyotishsanchar press

